चैत ५, विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पाँचौं साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध खेल्नुअघि फाइनल पुग्न खेलाडीहरु मानसिक र शारीरिक रुपमा तयार रहेको बताए ।
विराटनगरमा जारी च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आयोजक नेपाल भोलि बुधबार श्रीलंकाविरुद्ध खेल्दैछ । समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल समूह बी को उपजिवेता श्रीलंकालाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा छ । तुलनात्मक रुपमा कमजोर मानिएको श्रीलंकामाथि प्रशिक्षक खड्काले आक्रामक खेल प्रदर्शन गर्ने योजना बनाएका छन् । तर प्रतिद्वन्द्वीलाई कमजोर रुपमा नलिई सतर्क रहनुपर्नेमा प्रशिक्षक खड्का सचेत छन् । उनले भने, “पहिलो लक्ष्य फाइनल पुग्नु हो र त्यसपछि उपाधि । त्यसलाई निरन्तरता दिन हामी श्रीलंकाविरुद्ध आक्रवमक खेल्नेछौं । भारतसँगको खेलमा श्रीलंका केही कमजोर देखियो । तर प्रतिद्धन्द्वीलाई कमजोर सम्झेर खेल्ने छैनौं ।”
समूहको अन्तिम खेलमा श्रीलंका साविक विजेता भारतसँग ५–० को गोलअन्तले पराजित भएको थियो । प्रशिक्षक खड्काले पराजितपछि कमजोर मनोबलमा रहेका खेलाडीमाथि फरक रणनीति अपनाउने बताए । “भारतसँगको खेलपछि कुन खेलाडीलाई रोक्नेबारे रणनीति बनाएका छौं । श्रीलंकाले काउन्टर र डिफेन्सिफ खेल्छ । त्यही डिफेन्सिफ सेभलाई तोड्न प्रशिक्षणमा गरेको कुरालाई लागु गर्नेछौं,” प्रशिक्षक खड्काले भने । प्लेइङ सेटमा खासै परिवर्तन नहुने बताएका प्रशिक्षक खड्काले स्कोर धेरै भन्दा पनि राम्रो खेल प्रदर्शन गर्दै जित निकाल्नमा केन्द्रित रहने बताए । शारीरिक रुपमा बलिया श्रीलंकाका खेलाडीविरुद्ध त्यही अनुसार योजना बनाउने खड्काको भनाइ छ । टोली कप्तान निरु थापाले प्रतिद्वन्द्वीलाई कमजोर रुपमा नलिई सतर्क भएर खेल्ने बताएकी छन् । टिमले राम्रो प्रदर्शन गर्दै आइरहेको र सेमिफाइनलका लागि अझै मिहिनेत गर्ने उनले बताइन् ।

