चैत ४, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ।
बहुवर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि स्थगित गरिएको हो। समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डा युवराज खतिवडालाई बोलाइएको थियो। तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो। १२ बजेका लागि बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। समितिका सदस्यहरुले भने महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको बैठकमा मन्त्री महासेठ उपस्थित नभएकोमा आपत्ति जनाएका थिए। समितिका सदस्य यज्ञराज सुनुवारले सांसदहरुको चाँही काम नहुने जसरी मन्त्रीहरु महत्वपूर्ण बैठकमा पनि उपस्थित नभएको भन्दै आपत्ति जनाएका हुन्। उनले बहुवर्षीय आयोजनाबारे कुनै कामै नगरेकाले पनि मन्त्री महासेठ समितिको बैठकमा अनुपस्थित भएको हुन सक्ने आशंका पनि व्यक्त गरे।
बैठकमा आधाघण्टा ढिलो गरी उपस्थित भएका अर्थमन्त्री खतिवडाले भने मन्त्रीहरुको कार्यव्यस्ततालाई बेवास्ता गर्दै समितिको बैठक बोलाउने गरेको भन्दै गुनासो गरेका थिए। उनले राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएर आउँदा समितिको बैठकमा आउन केही ढिलाई भएको पनि स्पष्टिकरण दिए। कार्यव्यवस्थालाई ध्यानमा राखेर मन्त्रीहरुलाई समितिको बैठकमा बोलाउन सभापति खड्कालाई अर्थमन्त्री खतिवडाले आग्रह गरे। समितिको बैठक सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको थियो। तर साँढे १२ बजेसम्म पनि मन्त्री महासेठ बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको पनि समितिकी सभापति खड्काले जानकारी दिइन्।

