प्रारम्भ खबर ।
फागुन २७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्थित जगडोलमा निर्माणधिन रहेको राष्ट्रिय शहिद तथा शान्ति स्मृति पार्क (स्मारक) को संरचनाहरु बन्न सकिरहेको छैन् ।
विगत ११ वर्ष अगाडीदेखि निर्माण चरणमा आएको उक्त पार्क अहिले भने गुमनाम अवस्थामै छाडिएको छ । राष्ट्रिय गौरवको योजना अनुरुप नेपाल सरकार मन्त्री परिषद्को २०६४ जेठ ११ गते भएको निर्णय वमोजिम तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मातहत रहने गरी कुल लागत रु. ४६ करोड ७१ लख रकम स्वीकृत भई ७ वटा प्याकेज टेण्डर भई कार्य प्रारम्भ गरिएता पनि हालसम्म उक्त पार्क निर्माण सम्पन्न हुन सकेन । विस्तृत आयोजना प्रतिवेदन कार्यकारी सारांश परियोजना तालिका अनुसार पार्क सञ्चालन आरम्भ २०७१ साल बैशाख मसान्तमा सम्पन्न हुने सम्झौता भए पनि आर्थिक वर्ष २०७५÷०७६ सकिन लाग्दा पनि केही परिवर्तन आउन सकिएन ।

निर्माण कार्यको सुरुवात भएको ११ वर्ष वितेपनि पार्क निर्माण कार्यमा कुनै सम्बन्धित निकायले भने चासो लिएको छैन् । पटक–पटक सरकार र व्यवस्था फेरिए पनि एउटा पार्क निर्माणमा वर्षौ वर्ष समय लाग्नु र निर्माण भईसकेको संरचनाहरु नै भग्नावेश अवस्थामा पुग्नु कस्को जिम्मेवारी हो ? त्यसको मूल्य कस्ले वेहोर्ने हो ? त्यस प्रकारका राष्ट्रिय गौरवका योजनाहरुमा आम जनसमुदायको चासो हुन आवश्यक देखिन्छ ।
व्यवस्थापन समितिमा नै २ पटक अध्यक्ष भईसकेको सुर्दशन सिग्देल भने कहिले सरकार त कहिले ठेगेदारलाई दोष दिदै आफु पन्छिदै आएका छन् । प्रारम्भ खबरको पटक–पटक भएको निगरानी र रिपोर्टिङका क्रममा अध्यक्ष सिग्देलले १ वर्ष अगाडी नै निर्माण कार्य ३ महिनामै सकिने बताउँदै आए पनि कार्यगत प्रगति भने केही नभएको हाम्रो टोलीले फेला परेको छ । अहिले पार्क निर्माण कार्यलाई छाडेर अध्यक्ष सिग्देल गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको ३ करोड बजेटबाट गोकर्ण चौर निर्माणमा लागेका छन् ।
काम देखाउन नखोजिएको त होइन तर त्यहाँ एकल निर्णय र आफुखूसी माईनुट गर्दै शहरी विकास तथा भवन निर्माण विभाग देखि शहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयसम्म समेत दौडधुप गरिरहेका छन् । हामी शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल पुग्दा सूचना अधिकारी चन्द्रशेखर महतोका अनुसार अध्यक्ष सिग्देल पटक–पटक थप बजेट माग्न आउने गरे पनि उक्त विभाग र मन्त्रालयबाट बजेट रोक्का गराईसकेको जानकारी छ । कार्यअवधि नै सकिएको समितिका अध्यक्ष सिग्देल भने आफु नै अध्यक्ष हो भन्दै मन्त्रालयमा दौडधुपमा लागेको स्वयम बताउँदै आएका छन् ।
उक्त मन्त्रालयहरुको परिवर्तनसंगै पार्क निर्माणको कार्य शहरी विकास मन्त्रालय मातहतमा परेपछि पटक–पटक मन्त्रालय भन्दै कार्यालय नै नबसी निस्किएका सिग्देलले पछिल्लो समयमा प्रारम्भ टोलीलाई समेत नराम्रोसंग जुक्याएका छन् । मन्त्री ज्यूले एक कार्यकालका लागि आफुलाई पुनः अध्यक्ष नियुक्ति गरेको भन्दै गलत सूचना प्रवाह गर्दै आए पनि सहिद दिवसको कार्यक्रममा त्यो सपना आधुरो नै सावित भयो । विभिन्न समयमा हामी पार्क क्षेत्रमा जाँदा सुराकी समेत राखेर प्रवेशमा रोक लगाएपछि हाम्रो मिसन निरन्तर अघि बढ्दै गयो । माघ १६ अर्थात् शहिद दिवसको अवसरमा पार्क व्यवस्थापन समितिकै नामबाट कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका मन्त्री मोहम्मद इश्तियाक राईले पार्क निर्माणमा अनिमियता गर्नेलाई कारवाही गरिने प्रतिवद्धता पनि दिए । त्यसैविच समिति, मन्त्रालय र ठेगेदार कम्पनीलाई समेत अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने वक्तव्य दिएका थिए ।

त्यस्तै निर्माणधीन पार्ककै विषयमा हाम्रो ध्यानार्षणलाई सम्बोधन गर्दै प्रदेश संसाद रामेश्वर फुयाँलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौषको पहिलो हप्तामा हालसम्म भएको प्रयास र समस्याहरु बारे छलफल गरि निष्कर्षसहित गुण र दोषको आधारमा धन्यवाद र कारवाहीको विषय बनाउने तर्क राखेका थिए । तर फागुन महिनाको आजको मितिमा पुग्दा समेत माननीयहरु र जनप्रतिनिधिहरुको कुनै चासो नहुँदा पार्क तत्काल बन्न नसक्ने अवस्थामा गएको छ । व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नेतृत्व विहिन पार्क अब पार्क कस्ले र कसरी बनाउने सम्बन्धित निकायको ध्यान जाने कि ?

