फागुन २७, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत सङ्ग्रह हुनै नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत सङ्ग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा भएको बताउनुभयो । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भएपनि त्यो विशाक्त हुने भएकाले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट गर्नुभयो ।
“पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रिय अखण्डताका बिषयमा जनमत सङ्ग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।”
पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानीबिनाको माछा जस्तो भुटभुटिएका छन् ।” प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने र लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताउनुभयो । “देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुबै कुरालाई निस्तेज पारिन्छ । ” प्रधानमन्त्री ओलीले देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

