फागुन २७, भैरहवा । गृहमन्त्री राम बहादुर थापा बादलले देशको अखण्डतामा आँच आउनेगरी स्वराजको माग गर्नेहरुको सर्त पूरा नहुने बताउनुभएकाे छ । उहाँले यसका लागि जनमत सग्रह गर्न नसकिने प्रष्ट पार्नुभयाे ।
यहाँ आयाेजित प्रदेश ५ को सुरक्षा गाेष्ठीमा आज सञ्चारकर्मीहरुकाे प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले बाहिर हल्ला गरिएझैँ यो विषयमा जनमत संग्रह कुनै पनि हालतमा नहुने र संविधानमा समेत उल्लेख नभएको प्रष्ट पार्नुभएकाे हाे । मन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धनका नेता डा सीके राउतसँग सरकारले कुनै पूर्वाग्रह नराखी सहमति गरेकाे बताउनुभयाे । उहाँले राष्ट्रको अहित नहुने गरी सहमति गरिएको र अहिले तराई-मधेशका केही भागमा देखा परेका विखण्डनका आवाजहरु केही दिनमै हराएर जाने दाबी गर्नुभयाे ।
मन्त्री थापाले वर्तमान सरकार देशमा शान्ति, सुरक्षा कायम गर्न सफल रहेको समेत दाबी गर्नुभयाे । प्रदेश ५ अन्तरगतका १२ जिल्लाका सुरक्षा निकायहरुकाे साे भेलामा सहभागीतासँगै निर्देशन दिन गृहमन्त्री थापा सोमबार भैरहवा आउँदा सो भनाई राख्नुभएकाे हाे ।
यहाँस्थित बोधी रेडशन होटलमा आयोजित सुरक्षा बैठकमा गृहमन्त्रीसहित, गृह सचिव, प्रदेश ५ का आन्तरिक मामिलामन्त्री, प्रदेशका मुख्य सचिव, १२ जिल्लाकै प्रमुख जिल्ला अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का नेपाली सेनाका प्रमुख एवं प्रतिनिधिहरु, संघीय प्रहरी ईकाई प्रमुख लगायत १ सय भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता रहेको छ । सुरक्षा बैठक आजै सकिँदै छ ।

