नारी दिवसको अवसरमा काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

फागुन २६, काठमाडौं । १०९ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर काभ्रेको शंखुमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गराएको छ ।

उत्पीडित जागरण अभियान समाजको संयोजन तथा क्यान्सर सोसाइटी नेपाल, नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलको संयुक्त रुपमा महिलामा हुने पाठेघरको उपचारसम्बन्धि चेतनामूलक कार्यक्रमसहित आयोजना गरिएको उक्त शिविरमा ११८ जनाभन्दा बढि बिरामीहरुले प्रत्यक्ष रुपमा लाभ लिएका छन् ।

शिविर कार्यक्रमको प्रमुख अतिथि समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जुले आयोजकलाई धन्यवाद दिदै दुःख कठिनाईहरु र रोगसम्बन्धी ज्ञानको अभावले पहाडी क्षेत्रमा बसोबास गर्ने नेपाली समाजमा अझै पनि अन्धविश्वासमै अल्झिएको भन्दै आफ्नो रोग लुकाएर बस्न नहुने बताए । अझै पनि चेतनाको अभावका कारण गरीवीसंगै धामी झाँक्रीको विश्वासमा उपचार भईरहेको उल्लेख गर्दै सचेत र शिक्षित वर्गले गाउँठाउँमा चेतनामूलक कार्यक्रमकासाथ शिविर सञ्चालन गर्न आग्रह गरे । मेयर बेन्जुले आर्थिक अभावकै कारण रोग पालेर नबस्न नगरबासीलाई समेत आग्रह गरे ।

धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जुको प्रमुख आतिथ्य र लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलका अध्यक्ष महेश गोयलको सभापतित्वमा भएको उक्त सिविरमा क्यान्सर सोसाइटी नेपालका अध्यक्ष रामनाथ मैनाली, नेपाल क्यान्सर हस्पिटलका सिनियर डाक्टर मुरारी श्रेष्ठ, धुलिखेल नगरपालिकाका वडा न १२ का अध्यक्ष हर्क बहादुर गुरुङ, उत्पीडित जागरण अभियान समाजका महासचिब मणिकलाल घिसिङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।

त्यस्तै क्यान्सर रोग सम्बन्धी जानकारी गराउदै नेपाल क्यान्सर हस्पिटलका सिनियर डाक्टर मुरारी श्रेष्ठले गाउँ ठाउँमा भएका महिलाहरुले बेला बेलामा क्यान्सर तथा स्वास्थ्य परिक्षण गरेमा प्रारम्भिक चरणमै रोग पत्ता लगाउन सकिने र उपचारबाट निको हुने बताए । डाक्टर श्रेष्ठले क्यान्सर बंशनुगत र वातावरणीय कृयाकलापका कारण लाग्न सक्ने बताए । डाक्टर श्रेष्ठले महिला सम्बन्धि आएका विभिन्न समस्याहरुको ओरिएण्टेशन क्लास लिई प्रत्यक्ष रुपमा जिज्ञासा समाधान गर्ने प्रयास गरे ।

लायन्स क्लब अफ काठमाण्डौका अध्यक्ष महेश गोयलले ‘लायन्स क्लब सामाजिक कार्य गर्ने सबैभन्दा ठुलो संस्था रहेको उल्लेख गर्दै अन्तराष्ट्रिय रुपमा काम गर्दै आएको बताए । सामाजिक कार्यमा लायन्स सधैं तत्पर रहेको बताउँदै आवश्यकता अनुसार निरन्तर सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा धुलिखेल नगरपालिका वडा १२ का अध्यक्ष हर्क बहादुर तामाङले आफ्नो वडामा स्वास्थ्य शिविर हुदाँ खुशी ब्यक्त गरे । आगामी दिनमा नाक कान घाटी र अन्य रोग सम्बन्धी शिबिर ल्याए, अझै सम्पूर्ण सहयोग गर्न तत्पर रहेको समेत बताए । क्यान्सर सोसाईटी नेपालका अध्यक्ष रामनाथ मैनालीले जीवनको अन्तिम घडीमा क्यान्सर भएर उपचार हुन नसकेकाहरुको पनि उपचार गर्दै आएको बताउँदै स्थानीयहरुको सेवा गर्न पाउँदा निकै खुशी भएको अनुभव व्यक्त गरे । शिविरका ब्यबस्थापक तथा संयोजक सन्जिता लामाले कार्यक्रम सोचे भन्दा भव्य भएको बताईन् । कतिपय अवस्थामा ग्रामिण महिलाहरु आर्थिक तथा चेतनाको अभावले रोग लुकाउँदै आएको कारण स्थानीय स्तरमा शिविर राख्दा तिनीहरुले सहजै लाभ लिन सक्ने संयोजक लामाले बताईन् ।

उत्पिडित जागारण अभियान समाजका अध्यक्ष जि.एम्. लोप्चनले कार्यक्रम सफल भएकोमा सहयोगी संघसंस्था र सहभागीहरुलाई धन्यवाद दिदैं आगामी दिनहरुमा पनि जागारण अभियानले समाजमा पिछाडिएको वर्ग समुदाय र आर्थिक अभावका कारण स्वास्थ्य उपाचार सेवा लिन नसकेका ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।

कार्यक्रम संचालन तथा ब्यबस्थापन स्वास्थ्य चौकीका इन्चार्ज नमुना गुरुङले गरेकी थिईन् । स्थानिय रुपमा नाम दर्ता गर्न अनामिका अस्मिता दोङ लगायतका सदस्यहरु थिए । उत्पिडित जागरण अभियान समाजको तर्फबाट मणिकलाल घिसिङको संयोजकत्वमा ६ सदस्यिय टोली शर्मिला लोप्चन, रमिता लामा, चक्र घिसिङ, उषा घिसिङ र शंकर योञ्जन रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.