सौर्य ऊर्जा परियोजना बन्द हुँदा लोमान्थाङ अन्धकार

फागुन २७, ठिनी । उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।

सौर्य ऊर्जा स्टेशन चार्ज हुन नसक्दा गाउँ अन्धकार बनेको लोमान्थाङका रामबहादुर गुरुङले बताउनुभयो । चार वर्षअघि चीन सरकारको रु एक करोड सहयोगमा सौर्य ऊर्जा परियोजना जडान गरेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा रहेको लोमान्थाङमा विद्युत् आपूर्ति गरिएको थियो । “सौर्य ऊर्जाको भर परेर वैकल्पिक व्यवस्था गरेका थिएनौँ”, गुरुङले भन्नुभयो, “परियोजना बन्द भएपछि उज्यालोका लागि बत्ती बाल्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न पाएका छैनाँै ।”

उक्त सौर्य ऊर्जाबाट उपल्लो मुस्ताङका लोमान्थाङ, छोन्हुप, छोसेर र सुर्खाङ क्षेत्रका एक हजार ३६६ घरमा विद्युत् सुविधा पुगेको थियो । राष्ट्रिय प्रसारण लाइन नपुगेको उपल्लो मुस्ताङ क्षेत्रमा ३० सौर्य प्यानलबाट उत्पादित उक्त विद्युत्ले लोमाङथाङ क्षेत्र उज्यालो बनेको थियो ।

चीन सरकारको आफ्नै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सौर्य ऊर्जा स्टेशन मर्मतका लागि उनीहरु नै आउनुपर्ने भएकाले तत्काल मर्मत गर्नसक्ने अवस्था नरहेको लोमान्थाङ गाउँपालिका–१ का अध्यक्ष पेमा आङ्ग्या गुरुङले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.