फागुन २०, काठमाडौं । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी समवेदना व्यक्त गर्नुभएको छ ।
आज दिउँसो बालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले सान्त्वना दिनुभएको उहाँको सचिवालयले जनाएको छ । आङछिरिङको निधनले पर्यटन र हवाई क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो । पछिल्लो समय नेपालमै ‘पाइलट ट्रेनिङ सेन्टर’ खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्नुहुँदै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर वचन समेत दिनुभएको स्मरण गर्नुभयो ।
उहाँले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गर्नुभएको थियो । यसैबीच सभामुख महराले आइतबार सो दुर्घटनमा परी निधन हुनुभएका अन्य व्यक्तिका परिवारलाई भेटी समवेदना व्यक्त गर्नुभएको थियो ।

