फागुन १४, नेपालगञ्ज । नेपालबाट भारत हुँदै अवैधरुपमा तेस्रो मुलुक लगिँदैगरेका १९ जना नेपाली महिलालाई नेपालगञ्जको जमुनाह नाकाबाट उद्धार गरिएको छ ।
शंकास्पदरुपमा भारत प्रवेश गर्न खोजेका उनीहरुको फागुन १० र ११ गते राति जमुनाहा नाकाबाट नेपाल प्रहरी र माइती नेपालको समन्वयमा उद्धार गरिएको हो । १९ देखि ४१ बर्ष उमेर समूहका ती महिलाहरु भारत हुँदै इराक, किर्गिस्तान जान लागेको प्रारम्भिक सोधपुछका क्रममा थाहा भएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशब कोइरालाले जानकारी दिनुभयो ।
उद्धार गरिएका मध्ये कतिपय महिलालाई परिवारको जिम्मा लगाइसकिएको छ भने कतिलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । संयोजक कोइरालाका अनुसार, उद्धार गरिएका महिलाहरु मोरङ, सुनसरी, काभ्रे, सर्लाही, गुल्मी, रसुवा, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, उदयपुर, रोल्पा र झापाका रहेका छन् ।– नवीन गिरी, रेडियो नेपाल

