जुनियर रेडक्रसको सम्मेलन सम्पन्न

फागुन १३, पोखरा । आगामी दिनमा मानवीय सेवाका क्षेत्रमा अझ अनवरतरुपमा तल्लीन रहने प्रतिबद्धता जनाउँदै नेपाल रेडक्रस सोसाइटीको राष्ट्रि«य जुनियर तथा युवा रेडक्रसकर्मीको दुईदिने ३९औं सम्मेलन यहाँस्थित कुडहरमा सम्पन्न भयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घद्वारा प्रवद्र्धित ‘केन्द्रमा युवा नीति’ तथा सोसाइटीको ‘युवा संलग्न नीति’ प्रति प्रतिबद्ध रही प्राकृतिक, सामाजिक र मानवीय सेवाका विविध गतिविधिलाई अझ प्रभावकारी सञ्चालन गर्ने सम्मेलनले प्रतिबद्धता जनाएको छ । सम्मेलनमा विभिन्न ५३ जिल्लाका १५३ जना प्रतिनिधि, सोसाइटी कास्की जिल्लाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । सम्मेलनपछि आइतबार जारी विज्ञप्तिमा हरेक वर्ष एउटा युवा सर्कललाई स्वयंसेवा दूत घोषणा गरी देशभरिका अन्य जुनियर सर्कललाई मानवीय सेवाका विषयमा बहस तथा पैरवी गर्न क्षमता अभिवृद्धि सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाइएको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, खानेपानी तथा सरसफाइ, अन्तर्राष्ट्रिय मानवीय कानूनमा युवाको भूमिका, विपद् व्यवस्थापन, भूकम्पीय सुरक्षा, आगलागी नियन्त्रणका विषयमा विगतका अनुभव आगामी दिनमा गर्नुपर्ने कामका बारेमा व्यावहारिक कक्षासमेत सञ्चालन भएको सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन गर्दै सोसाइटीका अध्यक्ष सञ्जीव थापाले मानवीय सेवाका क्षेत्रमा युवा स्वसंसेवीको निःस्वार्थ सेवाले सोसाइटीको गरिमा उँचो भएको चर्चा गर्दै आगामी दिनमा विभिन्न मानवीय सेवामा अझ तल्लीन रहने बताउनुभयो ।

सम्मेलनमा विजय दाहाल, प्रकृति विष्ट, कुनाल मिश्र, दुर्गमान श्रेष्ठले क्रमशः वृत्तिविकास, खाद्यान्नमा विषादीको न्यूनीकरण गर्ने तरिका, रक्तसञ्चारको प्रभावकारितामा जुनियर युवाले खेल्ने भूमिकालगायतका विषयमा प्रशिक्षणसमेत दिनुभएको थियो । भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक तारा बरालले मानवीय सेवाका गतिविधिमा युवा रेडक्रसकर्मीको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

‘म सेवा गर्छु’ नाराका साथ मानवीय सेवामा तल्लीन जुनियर युवा रेडक्रसअन्तर्गत हाल छ हजार ३४० जुनियर तथा युवा सर्कलमा आबद्ध भई आठ लाख ८२ हजार ६०५ जना जुनियर तथा युवा सदस्य स्वयंसेविका कार्यरत रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.