प्रारम्भ खबर ।
फागुन १२, काठमाडौं । गोकर्णेश्वरमा सामाजिक संस्था सामुदायिक सेवा केन्द्रको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) को सभा हलमा शनिवार भएको साधारणसभामा संस्थाले गरेको वार्षिक कार्य प्रगती विवरण र आर्थिक लेखाजोखा समेत प्रतिवेदनबाट सार्वजनिक गरिएको छ । गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभाले आगामी दिनमा संस्थाले समुदायको विकास र उन्नतीका लागि परिवर्तनमूलक कार्य गर्न आवश्यक आपत्कालिन कोषको समेत प्रारम्भ गरेको छ । प्रमुख अतिथि समेत रहेकी उपमेयर शान्ति नेपालले उक्त संस्थाको आजीवन सदस्यता लिदै संस्थागत विकास र सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सेवा केन्द्रका अध्यक्ष राजेश कुमार विष्टको अध्यक्षतामा भएको सो सभामा अन्य सहभागीहरुले पनि समुदायको हितको लागि आफूहरु प्रतिवद्धता रहेको उल्लेख गर्दै आपतकालिन कोषमा रकम जम्मा गरिएका थिए । संस्थाले समाजको पर्यावरण संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद, लागू औषध दूव्र्यसनी नियन्त्रण, महिला, युवा बालबालिका, वृद्ध–वृद्धा, अशक्त, दलित, जनजाति तथा समाजमा पिछाडिएको वर्गहरुलाई आर्थिक रुपमा समृद्धी बनाउन आधारभूत सीपयुक्त तालिमहरु प्रवाह गर्दै आएको अध्यक्ष विष्टले बताए ।

राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) को छत्रछायाँमा जन्मिएको संस्था भएता पनि पार्क समितिबाट संस्थाको लागि कुनै सहयोग नमिले समेत संस्थाको गुणासो रहेको छ । तथापी पार्कलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । वर्तमान अवस्थामा पार्कको निर्माणधीन संरचना लथालिङग रहे पनि सामुदायिक सेवा केन्द्रले भने त्यसको जिम्मेवारी नपाएको बताएको छ । पार्क निर्माणको चरण वर्षौ बितेपनि सम्पन्न नहुनुमा व्यवस्थापन नेतृत्वको कमजोरी रहेको सभामा सहभागीहरुले बताए । अव आउने नयाँ समितिमा सामुदायिक सेवा केन्द्रले पनि महत्वपूर्ण भूमिका निभाउँने भन्दै पार्क समितिमा कुनै पनि राजनीतिकरण र स्वार्थ बोकेको व्यक्तिलाई प्रवेश नगराउने संस्थाका अध्यक्ष विष्टले प्रतिबद्धता व्यक्त गरे ।

