निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

फागुन ११, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् ।

म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र बेनपा–२ को सहआयोजनामा सञ्चालन गरिएको एकदिने शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।  शिविरमा ४१८ महिला र १८७ पुरुषले जाँच गराएका थिए । तीमध्ये १२२ स्त्रीरोग, नाक, कान र घाँटीका ८७, फिजिसियन १९९ र हाडजोर्नी तथा नशारोगसम्बन्धी २०७ बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार र सल्लाह प्राप्त गरेका शिविरको आयोजक संस्था म्याग्दी पोखरा चौतारीका उपाध्यक्ष एवं शिविरका संयोजक गोपाल घिमिरेले जानकारी दिनुभयो ।

संयोजक घिमिरेका अनुसार २७ बिरामीलाई पोखरामै बोलाएर उपचार गरिने भएको छ । शिविरमा गौश्वारा, विमिराबोट, तमाने, भकुण्डे, फापरखेत, खवरा, बगरफाँटलगायत बागलुङ जिल्लाको चनौटे, पन्चासे र मालिकाबाट समेत बिरामी आएका शिविरको सहआयोजक संस्था ज्यामरुककोट समाज नेपाल काठमाडौँका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।  वर्षौँदेखि पाठेघरको समस्याबाट पीडित जमुना घिमिरे स्त्रीरोग विशेषज्ञ डा छममाया पुनसँग आफ्नो समस्या बताउँदा उहाँबाट पाएको सल्लाहले खुशी लागेको बताउनुभयो । घिमिरेले भन्नुभयो, “यति राम्रोसँग पहिला कसैले पनि जाँच गरेका थिएनन् ।”

शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा भरत खत्री, स्त्रीरोग विशेषज्ञ डा छममाया पुन, फिजिसियन डा रोशन श्रेष्ठ, नशारोग विशेषज्ञ डा राजन शर्मा, हाडजोर्नी विशेषज्ञ डा सुनिल पहाडी, फिजिसियन डा किरण तामाङ तथा नाक कान घाँटीका विशेषज्ञ डा सञ्जय महर्जनको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेका शिविरका संयोजक घिमिरेले जानकारी दिनुभयो ।  बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्वास्थ्य शिविरको शुभारम्भ गर्नुभएको थियो । शिविरमा विशेषज्ञ चिकित्सक आएकाले स्वास्थ्य जाँच गराउनेको भीड लागेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.