प्रारम्भ खबर ।
फागुन ८, काठमाडौं । नेपाल तामाङ घेदुङले ६३ औं स्थापना दिवस मनाएका छन् । मंगलबार घेदुङ कार्यालयमै आयोजना गरिएको उक्त कार्यक्रममा अध्यक्ष मोहन गोलले प्रदेश ३ को नाम तामाङ नेवा घोषणा गराउन दबाब दिने बताएका छन् ।
जनसंख्याको हिसाबले तामाङ र नेवार समुदायको बहुल्यता रहेको प्रदेश ३ लाई स्वतः रुपमा ‘तामाङ नेवा’ प्रदेशको नामाकरण हुन आवश्यक रहेको बताए । संघियता कार्यन्वयनको पक्षमा सरकारले अग्रसरता देखाइएको बेला घेदुङका अध्यक्ष गोलले कुनै पनि नीजि स्वार्थका लागि समुदायको अधिकारलाई हस्तक्षेप नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे । उनले प्रदेशको ३ को सवालमा घेदुङले कदम अगाडी बढाई रहेको बताउँदै सिंगो देशभरका तामाङ समुदायको आर्थिक विकास र नेतृत्वमा पनि कार्य सम्पादन गर्दै आईरहेको बताए ।

स्थापना दिवसकै अवसरमा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेहरुमा घेदुङ पूर्व अध्यक्ष पर्शुराम तामाङ, महेन्द्र तामाङ, धनप्रसाद तामाङ, कुमार योञ्जन रहेका छन् । सम्मानपछि मन्तव्य राख्दै पर्शुराम तामाङले समुदायले उठाएको केही मुद्धहरु पूरा भए पनि कार्यन्वयनको पक्षमा केही त्रुट्री भएको उल्लेख गर्दै सरकारलाई सच्याउन आग्रह गरे । उनले अब आफ्नो अधिकारका लागि सडक आन्दोलन नभई वैचारिक र फरक ढंगबाट प्रस्तुत भएर राज्य सञ्चालकहरुलाई खबरदारी गराउन घेदुङलाई सुझाव दिए ।
त्यस्तै अर्का पूर्व अध्यक्ष महेन्द्र तामाङले तामाङ समुदायको पहिचानको रुपमा साँस्कृतिक पर्वहरु खुलेआम प्रस्तुत गर्न सक्ने वातावरण भएपनि राष्ट्रिय रुपमा पाउनुपर्ने विदाहरुबाट बञ्चित भएको आपत्ति जनाएका छन् । आगामी वर्षबाट तामाङ समुदायको राष्ट्रिय पर्वहरुमा विदा सुनिश्चित गराउन ध्यानाकर्षण गराए ।

