भ्रष्ट्रचारी गर्नेलाई कदापि मोलमोलाइ र छुट हुन्न – सञ्चारमन्त्री

फागुन ३, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ ।

बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न ।”  उहाँले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा बढ्ने हैन, न्यूनीकरण हुँदै जान्छ, यसबाट भ्रष्टाचारोन्मुख व्यक्ति वा सचेत रहन्छ, भ्रष्टाचारीलाई सजायँ गर्दा भ्रष्टाचार न्यून हुँदै जान्छ ।” उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीसमेतलाई भ्रष्टाचार आरोप नछाडिएको र अन्यका हकमा पनि शङ्का गर्नु नपर्ने स्पष्ट गर्नुभयो । अर्को प्रसङ्गमा मन्त्री बाँस्कोटाले यस वर्ष शिलान्यासको वर्ष र सङ्घीयता कार्यान्वयनसँगै अर्को वर्ष उद्घाटनको वर्ष आउने बताउँदै सडक, पुल, रेलजस्ता ठूलाठूला परियोजना शुरु भइसकेको जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारको उपलब्धि ‘शून्य’ भन्नेको हेर्ने, देख्ने, बुझ्ने र व्यक्त गर्नेमा नै शून्यता रहेको बताउनुभयो । “हामी चार वर्षपछि जनताको मूल्याङ्कन मात्रै स्वीकार्छौँ”, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको बनेपा नपा–११ नागीडाँडामा प्रस्ताव गर्न खोजिएको विमानस्थल बनाउन आन्तरिक गृहकार्य भइरहेको बताउँदै भन्नुभयो, “नागीडाँडामा एयरपोर्ट बनाउने विषयमा सम्बन्धित निकायमा दबाब दिइरहेका छौँ, यहाँ नभए अन्यत्र विकल्प खोज्नेछौँ ।” कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाई, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहालले आफ्नो अवधिमा जनतासँग गरेका वाचा पूरा गर्न जनताको मालिक भएर हैन, सेवक भएर काम गर्ने स्पष्ट गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.