फागुन १,काठमाडाैं । कलाकारिताबाट समाजसेवामा लागेका चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ ले मलेसियामा आफूले सोचे भन्दा पनि राम्रो साथ-सहयोग मिलेको बताएका छन ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि सहयोगार्थ रकम सङ्कलन गर्न मलेसिया पुगेका धुमुर्स सुन्तिलिलाई ३५ लाख रुपैयाँ सहयोग मिलेको छ । तीन सहरमा भएको ‘सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५’का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो । कार्यक्रमस्थलबाटै २० लाख ७१ हजार रुपैयाँ स्टेडियम निर्माण अभियानलाई सहयोग जुटेको हो भने आयोजक सिटी एक्सप्रेसले १५ लाख थपिदिएको हो ।
क्रिकेट स्टेडियम निर्माणका एक अभियन्ता धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मलेसियाका तीन सहरमा गरिएको मनोरञ्जनात्मक कार्यक्रमका क्रममा त्यो सहयोग उठेको बताएका छन ।
मलेसियाका तीन शहरहरु क्वालालम्पुर, जोहोरबारु र पेनाङमा गरिएको कार्यक्रमका क्रममा नेपाली दर्शकहरुले स्वःस्फूर्त उक्त सहयोग गरेको धुर्मुसले बताएका छन ।
रंगशाला निर्माण अभियानलाई लिएर फेरि केही समयपछि मलेसिया जाने निम्तो पनि पाएको पनि जनाएका छन । ‘मलेसियामा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी हर्षित भएका छौँ’ धुर्मुसले भनेका छन्, ‘त्यहाँका व्यवसायी, समाजसेवी र कम्पनीमा कार्यरत नेपालीले यस अभियानलाई सहयोग गर्न फेरि भ्रमणको निम्तो दिनुभएको छ ।’
सहयोगार्थ रकम सङ्कलन गर्न मलेसिया पुगेको बोला केही अनलाइन मिडियाहरूले भ्रामक समाचार प्रसारण गरेकोमा आपत्ति समेत उनले जनाएका थिए । उनले भ्रामक समाचारको पछाडि नलाग्न सबैलाई अनुरोध गरेका थिए।
चितवनको भरतपुरमा निर्माण कार्य सुरु भइरहेको रंगशालाको लागि सहयोगार्थ रकम सङ्कलन गर्न मलेसिया पुगेका बेला धुर्मुस-सुन्तलीमाथि केही अनलाइन मिडियाले भ्रामक समाचार प्रसारण गरेको थियो ।
केही समय अघि काठमाडौँमा भरतपुर महानगर र धुर्मुस सुन्तली फाउण्डेसनबीच रंगशाला निर्माणका लागी सम्झौता भएको थियो। २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको निर्माण लागत ३ अर्ब लाग्ने बताइएको छ।
‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मलेसियाबाट जुट्यो ३५ लाख ७१ हजार सहयोगसिटी एक्सप्रेस मनि ट्रान्सफरको…
Posted by Sitaram Kattel on Tuesday, February 12, 2019

