गण्डकी मेडिकल अस्पतालको काउन्टरमा तालाबन्दी

माघ २९, कास्की । यहाँस्थित गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले आइतबारदेखि मेडिकल कलेज परिसरमा रिले अनशन जारी छ।

बिहान १० देखि साँझ ८ बजेसम्म विद्यार्थी अनशनमा बसेका छन्। आज विद्यार्थीले अस्पतालको बिल काउन्टरमा समेत तालाबन्दी गरे। अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग विद्यार्थीको छ। काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले रु ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको विद्यार्थी सुमित घिमिरेले बताए। सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरेको उनले बताए। “सन् २०१५ देखियताका एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ र बिएन लगायतका सम्पूर्ण विद्यार्थी आन्दोलनमा छौँ,” घिमिरेले भने।

कलेज प्रशासनले भने सरकारले तोकेको शुल्क नै लिँदै आएको जिकिर गरेको छ। हरेक वर्ष शुल्क तयार हुने भएकाले ३ वर्षअघिको शुल्क अहिले लागू नहुने र कानूनअनुसार नै शुल्क लिएको जिकिर कलेज प्रशासनको छ । विद्यार्थीको आन्दोलनलाई अनेरास्ववियु, विवेकशील साझा पार्टी लगायतले पनि समर्थन गरेका छन्। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.