प्रेस काउन्सिलले राखे पाँच सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा

माघ २८, काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने विभिन्न पाँच सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ ।

पीडित पक्षले मानमर्दन हुनेगरी कपोकल्पित, झुठो, समाचार प्रकाशन÷प्रसारण गरेको, समाचारमार्फत चरित्र हत्या गरेको वा विभिन्न तरिकाले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको उजुरी दिएका आधारमा त्यसबारे पटकपटक पत्र पठाउँदा समेत बेवास्ता गरेको भन्दै ती सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखिएको सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिए । काउन्सिलले गरेको स्वअनुगमनका क्रममा समेत आचारसंहिता उल्लङ्घन गरेको पाइएको उनले बताए ।

अवज्ञाको सूचीमा पर्ने सञ्चारमाध्यममा ‘साप्ताहिक राजधानी आस्था’, ‘नदा टाइम्स साप्ताहिक (कास्की, पछि नाम फेरिएको नादा एक्सप्रेस), ‘स्वराज साप्ताहिक’, ‘फास्ट टाइम्स दैनिक’ (सुनसरी), र ‘गोरखापत्र दैनिक’ (काठमाडौँ) छन् । काउन्सिलको आचारसंहिता अनुगमन उपसमिति (छापा) को विभिन्न समयमा बसेको बैठकको निर्णयानुसार अवज्ञाकारीको सूचीमा राख्ने निर्णय भएको हो ।

आचारसंहिता पालनाका लागि काउन्सिलले पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटकपटक गरिएका कारवाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान रहेको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.