माघ २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पुरानोबानेश्वर वितरण केन्द्र नयाँ ग्राहक शाखामा कार्यरत नायब सुब्बा महेन्द्र प्रधानलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिइ गएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । “नायव सुब्बा महेन्द्र प्रधानलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,” अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नायव सुब्बा प्रधानले मिटरको क्षमता बृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी थालेको थियो । अनुसन्धानको क्रममा अख्तियारले सेवाग्राहीसँग १५ हजार घुस लिईसकेको अवस्थामा उनलाई पक्राउ गरेको थियो । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

