माघ २५, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।
उहाँको उपचार भइरहेको धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी गराउनुभयो । श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि उहाँलाई बिहीबार मेडिसिटी अस्पतालबाट थप उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । उहाँको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । यही माघ २ गते उहाँको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटीमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको हो । उहाँको उपचारमा अस्पतालका डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायत सहभागी हुनुहुन्छ ।

