डाँफेको संरक्षणमा समुदाय

माघ २४, गलेश्वर । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षीको मान्यता पाएको डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् ।

समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलमा पाइने स्थानीयले बताएका छन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो । त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका वडाध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जङ्गलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०सँग सहकार्य गरेर संरक्षण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

सन् १९९९ मा चराविद् कक्सले गरेको अनुसन्धानअनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७०० को हाराहारीमा डाँफे भेटिएको उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्वकालमा चोरी शिकारी र आगलागीका कारण डाँफेको सङ्ख्या घटेकोमा २०६५ सालयताको एक दशकको अवधिमा यसको सङ्ख्या दोब्बरले वृद्धि भएको स्थानीयले बताएका छन् । विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्तीर्ण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने आठ प्रकारका थोरै उड्ने र जमीनमा दौडने पक्षीका प्रजातिमध्ये डाँफे सबैभन्दा आकर्षक र ठूलो प्रजातिको पक्षी हो ।

नेपालमा डाँफेको सङ्ख्या तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताउनुभयो । चोखालका अनुसार सन् १९७३ को वन तथा वन्यजन्तु ऐनमा यो पक्षीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचिकृत गरिएको छ । यो पक्षी विशेषगरी अफगानिस्तान, पाकिस्थान, तिब्बत, भुटान र नेपालमा पाइने चोखालले बताउनुभयो । विश्वका अत्यन्त कम देशमा मात्र पाइने र नेपालमा राष्ट्रिय पक्षीको मान्यता दिइएको डाँफेको संरक्षणका लागि स्थानीयले गरेको प्रयास अत्यन्त सह्रानीय रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.