माघ २३, ललितपुर । ललितपुर महानगरले सहरलाई सहयोगापेक्षी सडक मानव (बाटोमा माग्ने) मुक्त बनाउने सहर बनाउने भएको छ ।
बुधबार ललितपुरमा मानव सेवा आश्रमको कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरलाई माग्ने मुक्त बनाउने गरी आवश्यक काम थालिएको बताए । महानगरले त्यस्ता व्यक्तिका लागि आश्रय भवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरी सरोकारवाला निकायसँग बहुपक्षीय छलफल गरिरहेको उनले जानकारी दिए । मेयर महर्जनले अहिले काठमाडौँ उपत्यकालाई नै कसरी माग्ने मुक्त बनाउने भन्नेबारे छलफल चलिरहेको पनि बताए ।
ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सडकमा सहयोग मागिरहेकाहरुलाई संकलन गरी आश्रयस्थलमा पठाउने गरेको छ । मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७ सय ५० त्यस्ता व्यक्तिहरुलाई उद्धार गरी आश्रय दिइरहेको छ ।

