माघ २३, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ ।
सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने सङ्घीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो । संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास शुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार आज सो कार्यकोसमेत अभ्यास गरिएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा युवराज खतिवडालाई सांसदहरुले प्रश्न सोध्नुभएको थियो ।
सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्री रामबहादुर थापालाई २०७५ साल साउन २१ गते भक्तपुरको काँडाघारीबाट अपरिहत ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङलाई गरिएको इन्काउण्टरबारे प्रष्ट पारिदिनुहुन्छ कि भन्ने प्रश्न गर्नुभएको थियो । उक्त प्रश्नको जवाफमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई गोली चलाउन खोज्दा आत्मसुरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनुभयो । उहाँले आत्मसुरक्षाका लागि गोली चलाउँदा गोपाल र अजयको मृत्यु भएको सदनलाई जानकारी गराउनुभयो । अपराधीलाई सुरक्षितरुपमा पक्राउ गर्न प्रहरी प्रयासरत रहका अवस्थामा प्रहरीमाथि नै आक्रमण भएकाले गोली चलाउनुपरेको गृहमन्त्री थापाले बताउनुभयो ।

