प्रारम्भ खबर ।
माघ १५, काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार २८५५ औं फाग्÷ढ्वा ल्हो (सुंगुर) वर्षलाई भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न तालिका सहितको कार्यक्रम सार्वजनिक गरेका छन् । यस वर्ष सयभन्दा बढि तामाङ संस्थाहरुको सहभागीता रहने गरी नेपाल तामाङ घेदुङ र नेपाल राष्ट्रिय तामाङ घेदुङको संयुक्त संयोजनमा कार्यक्रम हुने भएको छ । विगतका समयमा छुट्टछुट्टै गतिविधि सञ्चालन गर्दै आएपनि यस वर्ष भने तामाङ संस्थाहरु एक जुट भएर ल्होछार पर्वलाई राष्ट्रियकरण गर्न लागेको आयोजकले बताएको छ ।
काठमाडौंको टुँडिखेलमा दुई दिवसीय तामाङ साँस्कृतिक महोत्सवको समेत आयोजना गरिएको मूल समारोह समितिले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई प्रमुख अतिथि बनाएको छ । सो महोत्सवमा तामाङ समुदायको भेषभूषा, तामाङ पुस्तक, मौलिक कला, संस्कृति तथा तामाङ परिकारहरुको समेत प्रर्दशनी हुने आयोजकले बताएको छ । संसारभरी छरिएर रहेका तामाङहरुलाई एक्यवद्धताको शन्देस दिन तामाङ समुदाय एकजुट हुन आवश्यक रहेको भन्दै दुई ठूला तामाङ घेदुङ एकता हुने पनि जनाएको छ ।
‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक सरोकार । ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक आधार ।’ भन्ने नाराका साथ माघ २१ र २२ गते हुने उक्त साँस्कृतिक महोत्सवलाई लक्षित गरी मैत्रीपूर्ण ल्होछार कप फुटबल प्रतियोगीता, ताम्बा, लामा र बौनबोबाट साङ्सेरगेम, पूजापाठ, साँस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, हाजिरीजवाफ प्रतियोगीता लगायत विविध कार्यक्रम गरिने समितिले बताएको छ ।

