आधुनिक सूचना, प्रविधि जनताको पहुँचमा पुर्‍याइने – सञ्चारमन्त्री

माघ १५, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्‍याइने बताउनुभएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘सुविसु क्यान इन्फोटेक’को २५औँ संस्करणमा आज मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोग शहरीया उच्च वर्र्गले मात्र नभई दुर्गम गाउँका गरीब जनताले उपभोग गर्नेगरी प्रविधिको पहुँचलाई विस्तार गरिने उल्लेख गर्नुभयो । “सूचना प्रविधिमा आधारित उद्योग, ज्ञान, सीप र क्षमतालाई सम्पूर्ण तहमा व्यक्ति र संस्था अर्थात् ‘करोडपतिका बीचमा मात्र होइन, दुई हजार रुपैयाँको ज्येष्ठ नागरिक भत्ताले जीवन धान्ने परिवारमा’ पनि प्रविधिलाई कसरी पुर्‍याने भन्ने सरकारको सोचाइ छ । बरु, कुन तरिकाबाट पु¥याउन सकिन्छ, तपाईं सरोकार भएका सबैको साथ चाहिन्छ । अहिले बलियो सरकार छ, नीति र बजेटमा व्यवस्थापन गर्न सकिन्छ”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले ‘डिजिटल नेपाल’ को नाराअनुरुप सरकारले प्रविधिको विकास, विस्तार र पहुँच अभिवृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै सूचना प्रविधिको बहुआयामिक विकास र उपभोगलाई व्यवहारिक र सुलभ बनाई मुलुकको आर्थिक समृद्धिसँग जोडिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो– “प्रविधिमा नयाँ आविष्कारले उपभोक्ताको विलासिता बढाउँदा ठूलो धनराशि मुलुक बाहिर गइरहेको छ । यसलाई सस्तो, सुलभ, पहुँच र अपरिहार्य बनाउनुपर्छ । सूचना प्रविधि व्यक्ति र संस्थामा केन्द्रित होइन, हरेक जनताको घरघरमा पुगोस् जसले उनीहरुको दैनिक जीवनमा सहजता ल्याओस् ।”फरक प्रसङ्गमा सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको विकास विस्तारका लागि सरकारले छिट्टै आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्ने जानकारी दिनुभयो ।

प्रविधिको महत्वलाई ध्यानमा दिएर निर्माण हुने औद्योगिक क्षेत्रमा सूचना प्रविधिको क्षेत्रलाई स्थान छुट्याउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको मन्त्री बाँस्कोटाको भनाइ छ । उद्योग प्रवद्र्धन तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार उत्साहित रहेकाले नीतिगत सुधारमा कुनै कञ्जुस्याइँ गर्दैन भन्दै उहाँले व्यवसायीले पनि लगानीलाई पारदर्शी बनाई परिवर्तनलाई गति दिने गरी अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकास, विस्तार र प्रोत्साहनका लागि सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले प्रविधिको पहुँच दुर्गम गाउँसम्म पु¥याउन सरकार र निजी क्षेत्रको साझेदारिता चाहिने उल्लेख गर्नुभयो । सुविसु इन्टरनेट प्रालिका अध्यक्ष सुधीर पराजुली र ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले आधुनिक सूचना प्रविधिमा युवा पुस्तालाई आकर्षण गरी रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले सरकारले लिएको ‘डिजिटल ट्रान्सफरमेशन’ को अवधारणलाई सार्थक तुल्याउन संस्थाले प्रविधि प्रवद्र्धनात्मक कामलाई तीव्रता दिने उल्लेख गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.