सरकारद्वारा २ हजार ८०७ सुरक्षाकर्मी शहीद घोषणा

माघ १५, काठमाडौं । सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो । सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई शहीद घोषणा गरिएकोे बताउनुभयो ।

शहीद घोषणाले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । छोटो समयमा सशस्त्र प्रहरी बलले असाधारण रूपले प्रगति गरेकामा उहाँले प्रशंसा गर्नुभयो । लोकतन्त्र प्राप्तिको कठिन यात्रा सफलताका साथ पूरा गरेर नमूनायोग्य र अनुकरणीय काम गरिएको स्मरण गर्दै उहाँले शान्ति प्रक्रियाका अवशेष अझै बाँकी रहेकाले खाटो बसेको घाउमा मलम लगाउने बेला आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने, जनतालाई आतङ्कित पार्ने, शान्ति र सुव्यवस्था छैन भन्ने परिस्थिति सिर्जना गर्ने वा राष्ट्रिय अखण्डतामै असर पार्नेजस्ता देशद्रोही क्रियाकलाप हुन दिइने छैन”, उहाँले भन्नुभयो । उहाँले शान्ति हामी सबै नेपालीको साझा आकाङ्क्षा हो भन्दै देशको गौरव प्रतिष्ठा र सम्मान आज बढेको बताउनुभयो । उहाँले विश्व आर्थिक मञ्चले ४९ वर्षमा पहिलो पटक नेपाललाई सम्झेको र डाभोस बैठकमा नेपालको विचार, दृष्टिकोण, अवस्था र आकाङ्क्षालाई प्रष्टरुपमा बताइएको उल्लेख गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.