उत्पादन बढाउन राष्ट्रिय कफी सम्मेलन हुने

माघ १३, काठमाडौं । कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महीनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८०० मेट्रिकटन भएपनि उत्पादन ५१३ मेट्रिकटनमा सीमित छ । बोर्डको आयोजना र युरोपेली सङ्घअन्तर्गत ‘टिपिएचडी’ को आर्थिक तथा प्राविधिक सहयोगमा सो सम्मेलन हुनेभएको हो ।  नेपालमा अराविका जातको कफी खेती हुन्छ । सो कफीको माग कोरिया, जापान, जर्मनी र अमेरिकाबाट धेरै भएको छ । मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४÷०७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको कफी निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार बराबरको आयात भएको थियो ।

गत तीन वर्षको तथ्याङ्क हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१÷०७२ मा रु दुई करोड ४९ लाख ९१ हजारको निर्यात र नौ करोड ९१ लाख ७६ हजारको आयात भएको थियो । आव ०७२÷०७३ मा निर्यात रु पाँच करोड ५४ लाख ४१ हजार र आयात रु १० करोड ७९ लाख थियो भने आव ०७३÷०७४ मा निर्यात रु रु पाँच करोड चार लाख र आयात आठ करोड ४५ लाख ३८ हजारको भएको थियो ।  बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवदेखि आयातको तुलनामा निर्यात बढेको देखिन्छ । करीब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिने भएपनि आव ०७१÷०७२ मा दुई हजार ३८१ हेक्टर, ०७२÷०७३ मा दुई हजार ६१८ हेक्टर, ०७३÷०७४ मा दुई हजार ६४६ हेक्टर र ०७४÷०७५ मा दुई हजार ६५० हेक्टरमा कफी खेती गरिएको थियो ।  नेपालमा पछिल्लो चार वर्षमा कफीको उत्पादन स्थिर देखिन्छ । आव ०७१÷०७२ मा ४६३, ०७२÷०७३ मा ४३४, ०७३÷०७४ मा ४६६ र ०७४÷०७५ मा ५१३ मेट्रिकटन कफी उत्पादन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.