महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

माघ १२, काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ ।

पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२० सिरिजका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरेको हो । भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा कूल १५ खेलाडी छन् । प्रशिक्षकमा रिजन प्रजु छन् । नेपालले पहिलो खेल यही माघ १५ गते लाहोरमा खेल्नेछ । दोस्रो खेल १७ गते र तेस्रो खेल १८ गते फैसलावादमा हुनेछ । चौथो खेल माघ २० गते र पाँचौं खेल माघ २१ गते इस्लामावादमा हुनेछ ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले पहिलो पटक विदेशमा गएर खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टोली उत्साहित रहेको बताउनुभयो । नेपालले सन् २०१४ मा घरेलु मैदानमा बेलायतको महिला टोलीलाई बोलाएर तीन खेलको सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३–० ले जितेको थियो । सिरिजका लागि नेपालले करीब तीन साता तयारी गरेको थियो । पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाई, मनकेसी चौधरी, शुष्मा तामाङ, आशिका डगौरा आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हिता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री, भुमा खरेल रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.