माघ ११, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैंठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको हो ।
नेपाली कांग्रेसका सांसदहरुको नारावाजी तथा अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरिएको हो । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा पेश गरेको विधेयक बहुमतले पारित गरिएको हो । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी तथा अवरोध सिर्जना गरेका थिए । उनीहरुको अवरोधकाबीच सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए ।
आजको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बोलेकी थिईन् । उनले बोलिसकेपछि कांग्रेस सांसदहरु आफ्नो सिटबाट उठेर नाराबाजी गरेका हुन् । आजको बैठकमा दोब्बरको संख्यामा मर्यादापालक खटाईएको थियो । विधेयक पास भएसँगै १६ औं सत्याग्रहमा बसेका डा। गोविन्द केसीले के गर्लान् भन्ने आम प्रश्न रहेको छ । उनले आफुसँग गरिएको सहमतिअनुसार विधेयक नआए अनिश्चतकालिन अनसनमा रहने जनाईसकेका थिए ।

