माघ ७, काठमाडौं । गरिब, असहाय तथा जेहेन्दार बालबालिकाको उद्धार तथा पुनस्थापना गर्ने भन्दै नेपाल भित्रिएका कतिपय विदेशी नागरिक बाल यौन दुराचारको अभियोगमा पक्राउ पर्न थालेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले कालिमाटी रवि भवनस्थित एक अपार्टमेण्टमा बस्दै आएका बेलायती नागरिक आइएन रोवर्ट कोलेलाई बालकसँग अप्राकृतिक यौन सम्बन्ध राखेको अभियोगमा शनिवार साँझ पक्राउ गरेको छ । समाजसेवाको आवरणमा नेपाल भित्रिएका ५५ वर्षीय कोलेले पालन पोषणका अतिरिक्त शिक्षा दिने नाममा केही बालबालिकालाई आफ्नै अपार्टमेण्टमा राखेर यौन दुराचार गर्ने गरेको पाइएको जानकारी ब्यूरोका प्रहरीका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले दिनुभयो । उनको अपार्टमेण्टबाट तीन बालकको उद्धार गर्नुका साथै दुईजना नेपाली सहयोगीलाई पनि नियन्त्रणमा लिएको छ । यसअघि ठमेल सातघुम्तीस्थित एक होटलबाट नेदरल्याण्डस्का नागरिक ६६ वर्षीय पिट हेन भान पनि बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका थिए ।
ठमेल क्षेत्रका असहाय तथा सडक बालबालिकाको उद्धार गर्ने नाममा आर्थिक प्रलोभन देखाइ अप्राकृतिक यौन सम्वन्ध राख्नुका साथै बन्धक बनाई राखेको विषेश सुराकीका आधारमा ब्यूरो प्रहरीले उनलाई पक्राउ गरेको हो । पिट पेशाले बाल चिकित्सक हुन । त्यस्तैं, २०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको उद्धार तथा पुर्नस्थापना गर्ने योजना अनुरुप हिमालयन कम्युनिटि फाउण्डेसनका नाममा काभ्रेको मण्डन देउपुरमा शिक्षा, स्वास्थ्य र सरसफाई कार्यक्रम सञ्चालन गरिरहेका क्यानेडियन नागरिक ६० वर्षीय पिटर जोन पनि सोही अभियोगमा पक्राउ परेका हुन । समाजसेवी भनिने जोनले सोही गाँउका बालबालिकाको पालन पोषणका अतिरिक्त शिक्षा समेत उपलब्ध गराई दिने नाममा आफूसँगै राखी राति–राति बालयौन दुराचार गर्ने गरेको गुनासो आएपछि उनलाई पक्राउ गरिएको जानकारी ब्यूरोका प्रहरी उपरीक्षक चतुर्वेदीले दिनु भएको हो ।
पक्राउ तीनैजना अभियुक्त विरुद्ध जवरजस्ती करणी तथा बालयौन दुराचार अपराध अन्तर्गत अधिकतम १५ वर्ष कैद र पीडितलाई क्षतिपूर्ति भराउने मागदावी सहित मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

