प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखबाट ध्यानाकर्षण

माघ ७, काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गर्नुभए पनि काङ्ग्रेसले आशनबाट उठेर विरोध जनायो । सोलगत्तै सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको पहिलो बैठकमा काङ्ग्रेसले आफ्ना नेताका नाममा स्थापना भएका अस्पतालको बारेमा निर्णय नभएको भन्दै आपत्ति जनाएको थियो । संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पतालको विषयमा निर्णय गरे पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएकामा गुनासो गर्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.