प्रहरी अधिकारीहरुलाई प्रमाणमुखी अनुसन्धान गर्न निर्देशन

माघ ६, काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले कानुनले दिएको अधिकार निर्भिकतापूर्वक प्रयोग गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको नागरिक सहायता कक्षको नवनिर्मित भवन उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् । प्रहरी र समुदायको सहकार्यबाटै समाजलाई भयरहित र सुरक्षित बनाउन सकिने बताउँदै खनालले जनताको सहयोग लिएर अगाडि बढ्न सुझाव दिए । संसारमै नेपाल प्रहरीको काम उदाहरणीय भएको आईजीपी खनालले दोहोर्याए । ‘‘नेपाल प्रहरी जनताको प्रहरी हो । यसले मानवअधिकारको संरक्षण गर्दै समुदायसँगै मिलेर समुदायकै हितमा काम गर्छ । हाम्रा हरेक कामहरु हामीले पारदर्शी बनाउन खोजेका छौं । काम गर्दा हाम्रा कमजोरी भए निर्धक्क भएर जनताले गुनासो गरे हुन्छ,’’ आईजीपी खनालले भने ।

प्रमाणमुखी अनुसन्धान गर्न निर्देशन दिँदै खनालले उपलब्ध भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । खनालले भने, ‘‘विगतमा प्रहरीले यति रकम खायो भन्ने सुनिन्थ्यो । तर अब दुई रुपैयाँ पनि घुस खाएको सुन्न नपरोस् । आफ्नो दायित्व र जिम्मेवारी बिर्सनेलाई छुट हुँदैन ।’’ खनालले अपराध न्यूनीकरण गर्न प्रहरी सफल भएको दाबी गर्दै गुण्डाहरुको जरै उखेलेर नष्ट गर्न अधिकारीहरुलाई निर्देशन दिए । नेपाल प्रहरीले अघि सारेको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुँदै गएको आईजीपी खनालले बताए ।  नेपाल बंगलादेश बैंकको सहयोगमा १९ लाख ५० हजारको लागतमा नागरिक सहायता कक्ष निर्माण भएको हो । सहायता कक्षमा सेवाग्राहीका लागि फ्रि वाइफाइ, टेलिभिजन, चिसो–तातो पानी, निःशुल्क आवेदन फारम राखिनेछ । सहायता कक्षमा ७५ जनासम्म सेवाग्राही बस्न सक्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.