भिम लामा ।
माघ २, काठमाडौं । विश्व सम्पदा सूचीमा रहेका शान्ति तथा बौद्ध धर्मलम्बीहरुका आस्थाका धरोहर बौद्ध स्तुपमा यतिखेर राजनीति र शक्ति प्रर्दशनको केन्द्र बनिरहेको छ ।
शान्ति अंहिसा र अनुशासनको केन्द्र सबै नेपाली समुदायको साझा सम्पत्तिको रुपमा रहेको उक्त बौद्ध स्तुपमा पछिल्लो समयमा कसले अधिकार जमाउने भन्ने विषयले गर्दा अन्यौलको बन्दि भईरहेको छ । प्राचीन समयदेखि चिनियाँ लामाको सन्तानले आफुहरुले संरक्षण गर्दै आएको भन्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आफ्नो अधिकार जमाउदै एकलौटी गर्न खोजिएको आरोप लगाउँदै आएको छ भने अर्का बौद्धनाथ क्षेत्र विकास समितिले पनि आफ्नो सहभागीता खोज्दै पटक–पटक विवादमा आउने गरेको पाईन्छ । दुवै जना नेपाल राज्यको कानुनकै जगमा उभिएर अधिकार जमाउन खोजिएपनि वैधानिक हिसावले सफल भने हुन सकिरहेको छैन ।
ऐतिहासिक तथा पुरातत्विक सम्पत्ति बचाउनु राज्य र सम्पूर्ण नेपाली समुदायको अधिकार र कर्तव्य पनि हो । तर त्यस क्षेत्रमा केही व्यक्ति र समूहले मात्र एकाधिकार जमाउन खोजिएपछि कानुनी तथा सामाजिक रुपमै विवादको वातावरण सिर्जना भईरहेको छ । स्पष्ट मापदण्ड र कानुनकै अभाव बौद्ध स्तूप मात्र होईनन् कयौं चैत्य, मठ, मन्दिर तथा गुम्बाहरुमा त्यस्तै समस्याले अल्झिएको अवस्था छ । धर्म र संस्कृतिसंग जोडिएको विषयवस्तुमाथी राज्यकै लापारवाहीका कारण बौद्ध स्तुप जस्तै थुप्रै नेपालका नामसंगै सानसंग उभिएका मुलुकको चिनारीको रुपमा महत्वपूर्ण माध्यम बनेका धरोहरहरु अन्यौलमा छन् । पर्यटकका लागि एक मात्र आकर्षकको केन्द्रहरु मध्ये एक हो बौद्ध स्तुप । परापूर्वकालदेखि बौद्धमार्गीहरुको महत्वपूर्ण चैत्यको रुपमा चिनिएका उक्त स्तुप पछिल्लो समयमा पूजापाठदेखि व्यवस्थापनमा समेत विवादमा कुर्लिएको छ ।
विवादका विषय हो कहाँ र कति अधिकार प्रयोग गर्ने ? आखिर किन विवादमा कुर्लिए ? को– को आए विवाद गर्न ? यिनै प्रश्नहरुको विचमा यतिखेर दुई पात्र अग्रपंक्तिमा रहेका छन् । तिनीहरु हुन राजकुमार लामा र भूपतिबज्र लामा । राजकुमार लामा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष हुन भने भूपतिबज्र लामा बौद्ध घ्याङ गुठीका पुजारी लामा हुन् । दुवै जना एकअर्कामा आरोप र प्रत्यारोप गर्दै राजनीतिक शक्तिदेखि बल समेत प्रयोग गर्दै आएका छन् । धर्मलम्बीहरु तथा विदेशी पर्यटकहरुको आगमन भईरहने त्यस पवित्र स्थल बौद्ध स्तूपमा त्यस प्रकारका गतिविधि भईरहदा भने प्रशासन मुकदर्शक बनिरहेका छन् । विकास क्षेत्र समितिमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट अध्यक्ष नियुक्ति भई आएका राजकुमार लामा र गुठी संस्थान प्रधान कार्यालयबाट नियुक्ति भई आएका पुजारी लामा समाधानभन्दा बलजफ्ती गर्दै एकपछि अर्को क्रियाकलाप गर्दै आएका छन् । दुवै जना समस्याको समाधान खोज्न कानुनी प्रकृयाभन्दा मिडियामा प्रचारवाजी गर्नै व्यस्त छन् । यतिसम्म हो कि मिडिया नै मेरै हो भन्ने गरी केही सञ्चारमाध्यमका व्यक्ति परिचालित गराएका छन् । दुवैको मानशाय हो एकअर्कालाई भ्रममा पारेर कमजोर तुल्याउने र आफ्नो अधिकार जमाउने । विभिन्न सामाजिक सञ्जालका कमेन्ट तथा समाचार, अन्र्तवार्ताले नै नितन्त व्यक्तिगत स्वार्थका लागि लडाई लडिरहेको अवस्थामा बौद्ध धर्म र विश्व सम्पदा सूचीमा परेका उक्त स्तुपा संकटमा पुग्न लागेको हो कि भन्ने छर्लाङ भईसकेको छ । सरकारका निकाय र जनप्रतिनिधिहरु भने राजनीतिक पूर्वग्राहीको व्यवहार देखाई सिंगो बौद्ध धर्ममाथी नै खेलबाड गरिरहेका छन् ।
अर्को कुरा त दुवै पक्षले पावर देखाउँदै राजनीतिकरण गर्न खोजिएको छ । घटनाको नजिकबाट नियाल्दा दुवै पक्षले वर्तमान नेकपा सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलको नाम लिर्दै विवाद समाधान गरिदिन्छु भन्दै हिड्ने दलका नेताहरु पनि लागेको पाईएको छ । केही विषयवस्तुबारे स्पष्ट पार्न सन्तुलन समाचार सम्प्रेशन गरे पनि समाचारको भाषा नबुझि सिधै पैसामा बिगेको पत्रकार भन्दै धमक्याउने महान व्यक्तिहरुलाई राज्यका शासकहरुले कसरी अध्यक्षमा नियुक्ति गरिएको भन्ने प्रश्न चिन्ह खडा भएको छ । समाचार लेखेकै विषयमा पैसा खाएको आरोप गर्ने जिम्मेवारी व्यक्तिहरुलाई सरकारका निकायले कसरी कारवाहीको प्रक्रियामा ल्याउने हो त्यो ठूलै विषय बनेको छ । दुवै संस्थाको काम, कर्तव्य र अधिकार अनि जिम्मेवारी समेत सम्बन्धित निकायमार्फत उल्लेख गरिएका विद्येयक भए पनि पटक–पटक विवाद आउनु सामान्य विषय मान्नु गलत हुन्छ । यस प्रकार विषयमा बौद्ध क्षेत्रका रैथानी तामाङ मात्र होईन देशभरीका तामाङ अनि बौद्धधर्मलम्बी अपनाउने समुदायले बेलैमा सोच्नै पर्ने देखिन्छ ।

