नेविसंघ केन्द्रीय समितिको म्याद आज सकिँदै, के भन्छन् पदाधिकरीहरु ?

माघ २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिको म्याद आज (बुधबार) बाट सकिँदै छ । कांग्रेसले म्याद थप नगरे विधानअनुसार आज राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति स्वतः भंग हुनेछ ।

म्याद थप गर्ने आधिकारिक निकाय पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ १० गतेमात्र बोलाइएकाले अध्यक्ष नैनसिंह महर नेतृत्वको अहिलेको कार्यसमितिको वैधतामाथि प्रश्न उठ्ने देखिन्छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ १० गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने बताएका छन् । “विधानतः ११औँ महाधिवेशनबाट निर्वाचित भएर आएको नेविसंघ केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट स्वतः सकिँदै छ,” प्रवक्ता शर्माले भने, “अब नेविसंघका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा केन्द्रीय समितिमा छलफल हुन्छ ।”

तर, नेविसंघ अध्यक्ष महरले आफ्नै नेतृत्वमा १२औँ महाधिवेशन हुने दाबी गरिरहेका छन् । उनी यसअघि थपिएझै फेरि पनि म्याद थपिने दाबी गर्छन् । अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीनपटक निर्णय गराएर १२औँ महाधिवेशनको मिति तोके पनि हुन सकेन । पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो । अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । नेविसंघको केन्द्रीय समितिमा समेत चरम विवाद रहेको छ । अध्यक्ष महर निकटका उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले गत शुक्रबार सभापति देउवालाई राजीनामा बुझाएका थिए ।

त्यस्तै संस्थापन इतर समूहको ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाएको थियो । राजीनामा बुझाएका विद्यार्थी नेताहरु महरको नेतृत्वमा महाधिवेशन हुन नसक्ने देखिएपछि संगठनलाई निकास दिन मार्गप्रशस्त गर्न आफूहरुले राजीनामा दिएको दाबी गर्छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.