काभ्रेमा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

माघ २, काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडालाई छनोट गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् लीलाबहादुर तामाङले बताउनुभयो । “सङ्ग्रहालयमा तामाङले दैनिक रूपमा प्रयोग गर्ने भाँडावर्तन तथा औजार समेत राखिनेछ,” उहाँले भन्नुभयो ।

सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद बमध्वज तामाङले रु ५० लाख विनियोजन गर्नुभएको छ । प्रदेश नं ३ का प्रदेशसभा सदस्य रत्न ढकालले गुम्बा, भ्यूटावर र सङ्ग्रहालयका लागि रु ५० लाख विनियोजन गर्नुभएको छ । तेमाल गाउँपालिकाको हालैको बैठकले सङ्ग्रहालय बनाउने प्रस्ताव पास गरेको हो । सङ्ग्रहालय बनाउन करीब रु १० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.