महिला क्रिकेट : नेपाल र युएई खेल्दै

पुस ३०, काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ ।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ । आजको खेलमा नेपाल युएईविरुद्ध जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्ने तयारीका साथ मैदानमा उत्रने प्रशिक्षक विनोद दासले बताएका छन् । युएई पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ । अघिल्ला दुई खेल जितेको युएईको पनि चार अङ्क नै रहेको छ ।

पहिलो खेलमा नेपालले शनिबार चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो । नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् । रुविना क्षेत्री (वेलवासे) को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् । उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् । नेपालले समूह चरणको अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.