आयुर्वेद स्वास्थ्य शिविरमा छ सयको निःशुल्क उपचार

पुस ३०, पर्वत । यहाँको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस, जण्डिस, स्त्रीरोगका बिरामीको परीक्षण गरिएको आयोजक पार्वती युवा क्लबका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ग्याष्ट्रिक र स्त्रीरोगसम्बन्धी बिरामीको बढी भीड लागेको थियो । उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको मल्लले जानकारी दिनुभयो ।

वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि मोदी गाउँपालिकाका विभिन्न वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट समेत बिरामी सहभागी भएका थिए । शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा दीपक भुसाल, ल्याब टेक्नोलोजिष्ट डा नरेशप्रसाद पाण्डे, फिजियोथेरापिष्ट डा दिनेश गुरुङलगायतका चिकित्सवकबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

महाशिलाबाट ३५० बाँदर निकुञ्जमा लगियो

पर्वतको महाशिला गाउँपालिकाले झण्डै ३५० बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याएको छ । बाँदरले बालीनाली सखाप पारेको गुनासो आएपछि महाशिलाले अभियान नै चलाएर बाँदर समातेर चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर गत साता निकुञ्जमा पु¥याइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार यतिको सङ्ख्यामा बाँदर नियन्त्रणमा लिनका लागि रु ११ लाखभन्दा बढी खर्च भएको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष ०७५÷०७६ मा रु १५ लाख विनियोजन गरेको छ । सोमध्ये रु ११ लाख खर्च भइसकेको प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।

गाउँमा उत्पादित फलफूल, मकै, धान, तरकारी, आलु बाँदरले सखाप पारेपछि महाशिलाको गाउँसभामबाटै बाँदर नियन्त्रण गर्न प्रस्ताव पारित गरिएको थियो । भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकोमा गएको साउनदेखि यता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताउनुभयो ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.