पुस २६, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद हुन नसक्ने बताएका छन् ।
सरकारले सार्वजनिक बिदा नदिएको राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय एकताका प्रतीक मानिएका पृथ्वीनारायण शाहको योगदानको स्मरण गराएका हुन् । “एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण राष्ट्र निर्माणको दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरूको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं र हुँदैन । भुलेर, अलमलिएर र आफ्नो अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ । यसले बडामहाराजधिराजका दिव्योपदेशको औचित्य स्मरण गराइरहेको छ,” उनले विज्ञप्तिमा भनेका छन् ।
एउटा नागरिकका निम्ति देशभन्दा ठूलो अर्को वाद वा विचार हुन सक्दैन भन्दै नेपाली–नेपालीबीच फाटो पैदा गर्ने दूराग्रह बढाउने, सार्वभौमिकता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको उनले जनाएका छन् ।

