पुस २६, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुस २७ गते राष्ट्रिय एकता दिवस देशव्यापी रुपमा मनाउन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर नहेर्न आग्रह गर्दै थापाले एकीकरणको गौरव र इतिहास कहिल्यै पनि परिवर्तन नहुने भन्दै राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन आग्रह गरेका हुन्। बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले शुक्रबार राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरेका हुन्। ‘पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउँदछौं। शाहले एकीकरण गरेको होइन, गोरखा विस्तार गरेका हुन् भनेर व्याख्या गरेको पनि पाइयो,’ उनले भने, ‘तर, दुवैको परिणाम एउटै हो–आधुनिक नेपाल निर्माण। नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ।’
उनले भारतमाजस्तै नेपालमा पनि ब्रिटिश साम्राज्यको प्रभाव पार्न खोजिएको भएपनि पृथ्वीनारायण शाहले उनीहरुको षड्यन्त्र असफल पारिदिएको बताए। उनले भने, ‘१७६७ मा सिन्धुलीगढीमा अंग्रेज सेनालाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाउनु भयो।’ पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे। ‘मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ,’ उनले भने। आफ्नो पार्टीले प्रत्येक वर्ष पुष २७ गते देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए।
फरक प्रसँगमा उनले आफ्नो पार्टी राप्रपाले नेपाललाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापन गर्न माग राखेर आगामी फागुण ७ गतेबाट जनसंघर्ष गर्न लागेको पनि जनाए। फागुण ७ गते केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा ७ वटै प्रदेशका मुख्यमन्त्री र ७७ वटै जिल्लाका सिडिओहरुलाई हिन्दूराष्ट्र पूर्नस्थापनाको माग राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय भैसकेको थापाले सुनाए। आफूहरुले राखेका मागहरु फागुण मसान्तभित्रपनि पूरा नभए चैत्र १ गतेबाट जनसंघर्ष गर्ने थापाको चेतावनी छ। उनले भने, ‘जनसंघर्षको तयारी स्वरुप हाम्रो पार्टीले ७ वटै प्रदेशमा प्रशिक्षण सञ्चालन गरिसकेको छ। अहिले देशका विभिन्न भागहरुमा हिन्दूराष्ट्र पूर्नस्थापना जनजागरण सभा र घरदैलो कार्यक्रमहरु भैरहेका छन्।’
त्यस्तै आगामी फागुण १५ गतेदेखि फागुण मसान्तसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा पनि पार्टीले गर्न लागेको उनले सुनाए। उनले भने, ‘जसरी हामीले विगतमा रथयात्रा गरेर हिन्दूराष्ट्रप्रति जनताको चेतना र आकर्षण बढाउन सफल भएका थियौं, त्यसैगरी यो राष्ट्रिय स्वाभिमान यात्राबाटपनि हिन्दूराष्ट्रका बारेमा र देशले अहिले भोग्नु परेका समस्याहरुको बारेमा जनतालाई जागरुक तुल्याउने र पार्टीले गर्ने संघर्षलाई सफल तुल्याउने रणनीति हाम्रो पार्टीले लिएको छ।’

