पुस २६, काठमाडौं । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं. ३ माथिल्लो ओरवाङमा रहेको भूमिस्थान आधारभूत प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका ५० जना बालबालिकालाई बुधबार न्यानो कपडा वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष हरि ठल्लाकोटी, वडा नं. ३ का अध्यक्ष भूवन त्रिपाठीले ज्याकेट, सुरुवाल, टोपी, मोजालगायतका न्यानो कपडा तथा कापी र पेन्सिल वितरण गर्नुभएको जानकारी महिला, बालबालिका तथा युवा सचेतना समाज नेपालका अध्यक्ष कल्पना शर्माले दिनुभयो । एकदेखि १० वर्ष उमेर समूहका ती बालबालिकालाई ती कपडा सो समाज र प्रयास नेपालको संयुक्त पहलमा उपलब्ध गराइएको हो ।

