डा. केसीको जित संसदबाटै भयोः नेता भट्टराई

पुस २५, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास भएसँगै गोविन्द केसीको जित भएको दाबी गरेका छन् ।

समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको छ । तर, डा. केसीसँग भएको सहमतिका केही विषय उल्लंघन भएको भन्दै प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । नेकपाका सांसद भट्टराईले भने डा। केसी मात्र होइन, अरुले उठाएका चिकित्सा शिक्षा सुधारको माग पनि सम्बोधन भएको बताए । ‘डा. गोविन्द केसीसँग भएको सहमति तोडमोड गर्‍यो कि भन्ने शंका लागेको छ, त्यो होइन’ उनले भने, अब विगतमा जस्तो बाटाबाटै सम्बन्धन बाँडेर मेडिकल शिक्षालाई ब्यापार बनाउने कुरा यो विधेयकले सम्पूर्ण ढंगले रोकेको छ ।’ यसका लागि एक विश्वविद्यालयले पाँच भन्दा बढी दिन नपाउने, काठमाडौंभित्र १० वर्षसम्म सम्बन्धन दिन नपाउने र सम्बन्धन पाएकाले पनि मापदण्ड पूरा गरेका छैनन् भने खारेज हुने व्यवस्था गरिएको उनले बताए ।

उनले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था उपत्यका बाहिरको हकमा लागू नहुने प्रावधानको बचाउ गरे । भट्टराईले भने, ‘यो विधेयकले सम्बन्धन दिन चाहन्छ कि चाहँदैन भन्ने अधिकार विश्वविद्यालयलाई दिएको छ । उसको स्वायत्तता हो ।’ साथै सरकारले अनुमति दिएर अर्बौ लगानी गरेको भन्दै उनले आशयपत्र लिएर मापदण्ड पूरा गरेकाहरुलाई रोक्न नहुने बताए । मेडिकल शिक्षा पढ्न विदेशमा अर्बौ रकम गइरहेको भन्दै उनले भने, नेपाली लगानीकर्तालाई सिस्नु पानी हानेर लखेट्ने राष्ट्रघाती कुरा हो ।’

समितिले पास गरेको प्रतिवेदनमा संसदबाटै गोविन्द केसीको जित सुनिश्चित गरेको भट्टराईको दाबी छ । ‘उहाँले भने अनुसार कानून बनेको छ । ससदले उहाँलाई जिताइसक्यो, पुलमाला लगाइसक्यो,’ भट्टराईले भने, ‘उहाँले पनि यो संसदको सर्वोच्चता र प्रक्रियालाई स्वीकार गर्नुपर्छ । अन्यथा ब्याख्या गरेर भड्काउनेतिर जानु हँदैन ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.