प्रारम्भ खबर ।
पुस २५, काठमाडौं । बौद्ध महानगरीय प्रहरी वृत्तमा पीडितले दिएको उजुरी दर्ता नगरेको बौद्ध घ्याङ गुठीका लामाहरुको गुनासो छ ।
बौद्ध धर्ममाथी ठाडो हस्तक्षेप गर्दै लामा गुरुहरुमाथी नै हातपात गरेको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामामाथी कारवाहीको मागसहित सुरक्षा दिलाउन बौद्ध प्रहरी वृत्तमा उजुरी दिए पनि दर्ता नगरी अनुसन्धानको नाममा आफुलाई उल्टै दुःख दिएको गुम्बाका लामा विभागका संयोजक साङ्गे लामाले बताएका छन् ।
विकास समितिका अध्यक्षसहितको टोलीले पुस २० गते पुजापाठमा समेत अवरोध गर्दै ७ ठाउँमा ताल्चा काटेर अर्कै ताल्चा लगाएको गुठीका लामाहरुले बताएको छ । लामाहरुले आफुहरुमाथी नै हातपात गरेको र धार्मिक स्थलभित्र जबरजस्ती बल प्रयोग गरेको भन्दै निश्पक्ष छानविन तथा कारवाहीको माग राख्दै सुरक्षा प्रत्यभूति गराउन महानगरीय प्रहरी वृत्त बौद्ध कार्यालयमा उजुरी दिन पुगेका लामा उल्टै अपराध महाशाखा टेकु पु¥याएको प्रति चिन्त व्यक्त गर्दै आएका छन् । उनीहरुले न्याय माग्न जाँदा उल्टै आफुले दुःख पाएको भन्दै सरोकारवालाहरुले त्यसप्रति ध्यान नदिए बौद्ध धर्ममाथी नै गम्भीर असर पुग्ने उनिहरुको भनाई छ ।
घटना घटेकै दिन बौद्ध घ्याङ गुठीले चलानी नं. २५७÷०७५÷२० को निवेदन महानगरीय प्रहरी वृत्त बौद्धमा दिए पनि दर्ता नभएको र सोही निवेदन काठमाडौं महानगरपालिका वडा नं. ६ को कार्यालयमा भने दर्ता भएको छ । एउँटै कारवाहीको निवेदन वडा कार्यालयले दर्ता नं. १५७÷०९÷२२ गरेपनि प्रहरीले दर्ता गर्न नमान्दा जनताले सुरक्षा पाउने अधिकारमाथी नै गम्भीर प्रश्न उठ्ने कार्य भएको पीडितहरु बताउँदै आएको छ ।

