सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

पुस २४, जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्रयाक खोलिसकेको छ । छलगाडसम्म ट्र्याक खुलेपछि खण्ड–खण्ड गरेर स्थानीय जीप सञ्चालनमा आएका छन् ।

यसैगरी सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि सोमबारबाट नेपाली सेनाले दुई डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए । सुंपानीदेखि दुनैसम्म १४ किलोमिटर मोटरबाटोलाई थप तीन मिटर चौडा गरेर सडक विभागको ग्रिडबमोजिमको सडक बनाउने कामलाई सोमबारबाट शुरुवात गरेर १०० मिटर जति आजै बनाइसकेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । सुंपानीदेखि दुनैसम्मको सडकखण्डको ट्रयाक खुलेर जीप निर्वाधरुपमा सञ्चालन भए पनि १४ विभिन्न नदी तथा खोलामा मोटर सञ्चालन हुने पुल निर्माण नभएसम्म डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सञ्जालले छोएपनि यात्रुले सास्ती भोगिरहने छन् ।

यो बाटो विगत १० वर्ष अगाडिदेखि निर्माण शुरु भई ट्रयाक खुलेसँगै खण्ड–खण्ड गरी जीप सेवा सञ्चालन हुँदै आएको छ । महँगो भाडा तिरेर र ठाउँ–ठाउँमा पुल नहुँदा विभिन्न ठाउँमा वारीपारी पैदल हिँडेर भए पनि स्थानीयवासीले यात्रा गर्दै आइरहेका छन् । मोटरबाटो निर्माण शुरु भएपछि सुंपानीदेखि दुनैसम्मको बाटोमा पनि ढुक्कसँग यात्रा गर्न पाइने आशा स्थानीयवासीको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.