पुस २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको लागि तयारी थालेको छ । त्रिविले आफ्ना सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । परिपत्रमा त्रिविका क्याम्पसहरुमा ०७३ मा भएको स्ववियु निर्वाचनबाट निर्वाचित र सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएकोले ०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पूर्वतयारी गर्न गराउनु भनी त्रिविले उत्यका र बाहिरका आगिंक क्याम्पसहरुलाई निर्देशन दिएको छ । त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई–दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढंगले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ ।

