नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त

पुस २३, काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले अधिकारीलाई टेलिकम एमडीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

“मलाई नेपाल टेलिकमको एमडी नियुक्त गरेको पत्र आज दिउँसो प्राप्त भयो,” अधिकारीले आइतबार बाह्रखरीसँग भने, “अब सबै कर्मचारीदेखि तालुक मन्त्रालयसँग सहकार्य गर्दै अगाडि बढ्ने छु ।” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकम एमडी पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मन्त्रालयले एमडी बन्न आवेदन दिएका ११ जनामध्ये डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

सञ्चार सचिव महेन्द्रमान गुरुङ संयोजक रहेको छनोट समितिले ती तीन जनाको नाम सिफारिस गरेको थियो । अधिकारी हाल १० तहमा कार्यरत छन् भने आचार्यले यसअघि नै टेलिकममको एमडीका रूपमा काम गरिसकेका छन् । अर्की प्रतिस्पर्धी पहाडी पनि हाल टेलिकममा १० तहमा कार्यरत छिन् । सञ्चार मन्त्रालयले गत मंसिर २९ गते टेलिकममा एमडी नियुक्तिका लागि आवेदन माग थियो । सरकारले त्यही दिन एमडी कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि नयाँ एमडीका लागि आवेदन मागेको थियो । अहिले टेलिकममा सूर्यभक्त पोखरेल कामू प्रबन्ध निर्देशक छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.