पुस २१, काठमाडौँ । गत बर्ष नेपाल राष्ट्र बैंकले २७ अर्ब रुपैयाँ नाफा गरेको छ । बैंकले अब ३५ अर्बको पुनर्कर्जा कोष पुर्याउन ११ अर्ब दिने तयारी समेत गरेको छ ।
केन्द्रीय बैंकले गत बर्ष २७ अर्ब रुपैयाँ नाफा गरेको बार्षिक प्रतिवेदन सञ्चालक समितिबाट पारित भएको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले २७ अर्ब रुपैयाँ नाफा गर्दै त्यसबाट केही रकम विभिन्न कोषहरुमा लैजानेसमेत निर्णय गरेको हो । राष्ट्र बैंकले २७ अर्ब रुपैयाँ नाफामध्ये ११ अर्ब रुपैयाँ पुनर्कर्जा कोषमा सार्ने भएको छ। राष्ट्र बैंकले चालु आर्थिक बर्ष २० अर्बको पुनर्कर्जा कोषलाई ३५ अर्ब पुर्याउने घोषणा गरेपनि बढाउन सकेको थिएन ।
सरकारले पनि पैसा नदिएको र आफ्नो कोषबाट बढाउन संभव नभएकाले असारमा गरिएको घोषणा पुससम्म पनि कार्यान्वयनमा आइसकेको छैन । राष्ट्र बैंकले नाफामध्ये केही रकम सरकारलाई पनि उपलब्ध गराउने छ । गत बर्ष सरकारलाई सात अर्ब रुपैयाँ दीएको थियो । बैंकर्स संघ तथा अन्य ब्यवसायिक संगठनहरुले पुनर्कर्जा एकसय अर्बको पुर्याउन माग गर्दै आएका थिए ।
त्यसपछि राष्ट्र बैंकले २० अर्बको कोषलाई ३५ अर्ब पुर्याउने घोषणा गरेको थियो । राष्ट्र बैंकको क्षमता २० अर्बको भए पनि बैंकहरुले १५ अर्ब ६३ करोड रुपैयाँ मात्र पुनर्कर्जा चलाएका छन । यो कात्तिक मसान्तसम्मको तथ्यांक हो ।

