पुस २०, परासी । करिब २ सातासम्म बेपत्ता अवस्थामा रहेकी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की कमला चाैधरीकाे उनकै श्रीमान्ले हत्या गरेको खुलासा भएकाे छ ।
२१ वर्षीया कमला गत पुस ४ गतेबाट हराइरहेकी थीन । उनकाे २ सातापछि पुस १७ गते शव फेला परेकाे थियाे । मृतक कमलाका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दिएकाे जानकारीअनुसार श्रीमानले नै उनकाे हत्या गरेर जंगलमा फालिदिएका थिए । जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान सुनिलले हत्या गरेको रहस्य खुलेको हो । सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै छ । उनीविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाइने तयारी समेत भइरहेकाे छ ।

