डिपिएलका लागि २०५ खेलाडीले नाम दर्ता

पुस १८, काठमाडौँ। आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज जनाएको छ । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता मङ्गलबारसम्मका लागि तोकिएको थियो ।

खेलाडीले आफ्नो न्यूनतम मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन । आयोजकले खेलाडीलाई न्यूनतम रु ३० हजारदेखि अधिकतम रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो । दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ ।

खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा सबै टोलीमा दुई।दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.