सामाजिक सञ्जाल प्रयोग गरी ठगी

पुस १६, काठमाडौं । सामाजिक सञ्जालमा तपाईलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाईले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाई ठगिन पनि सक्नुहुन्छ ।

सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक विदेशीसहित नेपाली नागरिकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा सूचना वा जानकारी पठाई ठगी गर्ने गिरोह सक्रिय रहेको पत्ता लगाएको हो ।

महानगरीय अपराध महाशाखाले फेसबुक, हवाट्एप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक भुम्लुटार घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने कुसुम कायस्थ र आइभरी कोष्टका ओवोतार अलकाग्नीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ परेका श्रीमान् श्रीमती हुन् । उनीहरुले सामाजिक सञ्जालका अतिरिक्त भारतीय मोबाइल नम्बरबाट फोन गरी तपाईको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट रु १४ लाख ३४ हजार ९७२ बराबरको ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले ठगी गरेको पैसा काठमाडौँका विभिन्न रेष्टुरेन्टमा खर्च गर्ने गरेका थिए । उनीहरु श्रीमान् श्रीमतीका रुपमा काठमाडौँ पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्ने गरेका थिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरुले नेपालका विभिन्न बैंकको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले आठ जनालाई त्यस्तै प्रलोभन देखाई ठगी गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई आइतबार पेप्सीकोलाबाट पक्राउ गरेको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जानकारी आज दिएको छ । सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत महाशाखाले आग्रह गरेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.