त्रि.वि.को ४४ औं दीक्षान्त समारोह सोमबार

पुस १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त सोमबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा हुँदैछ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार यस पटकको दीक्षान्तमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका ९ हजार ५०५ जना दीक्षित हुँदैछन्। पनिकाले विगतका वर्षहरुको तुलनामा यस पटक फरक तरिकाले दीक्षान्त गराउँदैछ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस पटक दीक्षान्तमा सहभागी हुने सबै विद्यार्थीलाई गाउनको साथमा टोपी पनि प्रदान गरिएको छ। यसअघि पीएचडी उपाधि पाएका विद्यार्थीलाई मात्र गाउन र टोपी दिइन्थ्यो। स्नातक र स्नातकोत्तर तह उपाधि हासिल गरेकालाई गाउन मात्र दिइन्थ्यो।

त्यस्तै दीक्षित हुने सबै विद्यार्थीलाई प्रमाणपत्रको साथमा कभर र फोल्डर समेत दिइनेछ। यसअघि विद्यार्थीलाई एक पानाको प्रमाणपत्र मात्र हातमा दिइन्थ्यो। जोशीका अनुसार यसपटकको तेश्रो विशेषता भनेको पिएचडी उपाधि प्राप्त विद्यार्थीलाई उसको नाम समेत लेखिएको कभर र फोल्डर दिइनेछ। पनिकाले दीक्षान्तमा सहभागी हुने विद्यार्थीबाट प्रति विद्यार्थी स्नातक, स्नातकोत्तर र पिएचडी उपाधि प्राप्तलाई क्रमशः तीन हजार सात सय, चार हजार दुई सय र चार हजार सात सय रुपैयाँ लिएको छ। यो सबै धरौटीबापत् लिइएको हो।

यसबापत् विद्यार्थीलाई गाउन र टोपी दिइन्छ। दीक्षान्त सकिएपछि विद्यार्थीले गाउन र टोपी फिर्ता दिनुपर्छ। गाउन र टोपी फिर्ता दिएपछि प्रति विद्यार्थी सबै तहमा एक हजार पाँच सय रुपैयाँ कटाएर विद्यार्थीलाई बाँकी रकम फिर्ता दिइने परीक्षा नियन्त्रक जोशीले बताए। दीक्षान्त समारोहलाई प्रमुख अतिथिको रुपमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का प्राध्यापक महेन्द्र पी लामाले सम्बोधन गर्ने त्रिविले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.