सुशिल सिंखडा
सुन्दरीजल,काठमाडौं ।
कति पुरा हुन्छन्, कति हुँदैनन् । र पनि सपनामा आफ्नो उन्नत जीवनको परिकल्पना गर्नु मानवीय स्वभाव हो । तर जे होस ! सुखि जीवनको सपनालाई साकार रुप दिन काठमाडौं खाल्लोमा झरेकी विस्मिताले सरकारी सेवामा कार्यरत आफ्नो श्रीमानको कमाईलाई राम्रैसंग आफू अनुकुल खर्चिएकी थिई ।
विहानको कलेज, दिउँसको ब्यापारको ब्यस्तताले बेलुकी थकित मुद्रामा वासस्थान फर्कने दैनिकीले घेरिएकी विस्मिता दशैंमा जन्मघर पुगेकी थिई । टिकाटालो सकेर फर्कने अघिल्लो दिन विस्मिताको आमाले ः नानी कान्छीले पनि सहरमा गएर पढ्ने इच्छा गरेकी छ ! के गर्ने ? भन्नु भयो । विस्मितालेपनि घरको काममा सहयोग गर्ने एकजना आफ्नै मान्छेको आवश्यकता महसुस गरेकी नै हो । झन त्यस वखतमामा त उ दुई जिउकी थिई । सवै कुरा विचार गरेपछि उसले आमासंग बहिनीलाई आफूसंगै लाने कुरा गरी । आमा र दिदीको कुरा सुनेर बसेकी उत्तरा मख्ख परि !
बहिनीको भविश्यपनि उन्नत हुने आफूलाईपनि मदत पुग्ने । यही सोचेर उसले बहिनी उत्तरालाई साथमा नै लिएर काठमाडौं फर्कि । सुरुमा त काठमाडौंको सहरी जीवनलाई कहालि लाग्दो रहेछ भनेर अत्तालिएकी उत्तरा रहँदा–वस्दा काठमाडौं कै हावापानीमा घुलमिल भई सकेकी थिई । दिदीको बच्चा विप्लवले धर्तिमा पाइला हाली सकेको थियो । उत्तरा विप्लवको स्याहारमा रमाईलो मानि रहेकी थिई । उसको दैनिकी नै विहान कलेज जाने र दिउँस विप्लवको हेरविचार गर्ने भईसकेको थियो । दिदी विस्मिता र भिनाजु गगन काममा जाँदा ढुक्क भएर जान पाउँथें । किनकी उत्तराले विप्लवलाई आफ्नै आमाले जस्तै माया र रेखदेख गरेकी थिई ।
खुशि, सफलता र सन्तुष्टिले मानिसलाई थप महत्वकांक्षी वनाउँछ । कमाउने पति, सफल ब्यापार र सुखि अनि सम्पन्न परिवार पाएकी विस्मिताले श्रीमान्को खुशिमा भन्दा आफ्नै सुख र सुविधाहरुलाई बढी ध्यान दिन थाली । गाउँको विपन्नता र दरिद्रताहरु माझवाट सहर आएकी उत्तराले दिदी शारीरिक रुपमा भिनाजुसंग टाढीएकी छ, भन्ने बुझेकी थिई । दिदीको जस्तै सम्पन्न र सुखि जविनको सपना बुनेकी उत्तरा यस्तै अवसरको प्रतिक्षामा थिई । आफ्नो सपनालाई साकार पार्ने सवैभन्दा सहज वाटो भिनाजुसंग विवहा गर्नु नै हो भन्ने निर्णय गरिसकेकी उसले नाता र सम्बन्धको मर्यादालाई ख्यालै नगरि भिनाजुलाई आफूसंग आकर्षित गर्न थालेकी थिई । घ्यू त आगोको तापमा पग्लने नै भयो !
दिदीकै साहारामा सहर पसेकी उत्तरा हरेक दिन दिदीको नै अमनचैनको इष्र्या गर्न थालिसकेकी थिई । खुल्ला र उदार हृदय भएकी विस्मिताले रहँदा बस्दा प्यारी बहिनी आफ्नै सौता हुन्छे भन्ने, कल्पना समेत गरेकी थिईन । अहिले विस्मिता श्रीमान्संग सम्बन्ध विच्छेद गरी छोरासंग रमाई रहेकी छ ।

